(१) प्रत्येक सालको आश्विन मसान्तसम्ममा यो ऐन वा प्रचलित नेपाल कानून बमोजिम विदेशी लगानी कर तिर्नु पर्ने कर्तव्य भएका व्यक्तिले आफू साधारणतः बसोबास गरेको इलाकाको कर अधिकृत छेउ आफ्नू विदेशी लगानीको विवरण तोकिएको ढाँचामा दाखिल गर्नु गराउनु पर्दछ ।
(क) साधारणतः नेपाल ………..बाहिर बसोबास गरेका व्यक्तिले त्यस्तो विवरण काठमाडौंको कर अधिकृत छेउ दाखिल गर्नु गराउनु पर्दछ । कुनै करदाताले आफ्नो विदेशी लगानीको मूल्याङ्कन र कर निर्धारण नेपाल……..भित्र आफू बसेको इलाकाको कर अधिकृतबाट गराउन चाहेमा सो कर अधिकृत छेउ विदेशी लगानीको विवरण पेश गरी कर निर्धारण गराउन पनि सक्नेछ ।
(ख) यो ऐन बमोजिम विदेशी लगानी कर तिर्नुपर्ने व्यक्ति नाबालक वा बौलाहा वा लाटालाटी भएमा निजको विदेशी लगानीको विवरण दाखिल गर्ने कर्तव्य निजको संरक्षकको हुनेछ ।
(२) उपदफा (१) अन्तर्गत दाखिल गर्नु गराउनु पर्ने विवरण कसैले दाखिल नगरे नगराएमा वा झुट्टा विवरण दाखिल गरे गराएमा त्यस्तो व्यक्तिलाई कर अधिकृतको आदेशले ने.रु.५०००।– पाँच हजारसम्म जरिवाना हुन सक्नेछ ।
(३) यो ऐन वा प्रचलित ऐनबमोजिम कर लाग्ने विदेशी लगानी भएको भनी कुनै व्यक्ति उपर शंका लागेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई आफ्नू विदेशी लगानीको विवरण दाखिल गर्नु गराउनु भनी लिखित आदेश दिन सक्नेछ । सो आदेश पाएको मितिले १५ दिनभित्र आफ्नो विदेशी लगानीको विवरण तोकिएको ढाँचामा कर अधिकृत कहाँ दाखिल गर्नु गराउनु पर्दछ ।
तर माथि उल्लेख भएको म्यादभित्र पनि विवरण दाखिल गर्न गराउन नसक्ने व्यक्तिले कारण जनाई सो कुराको लिखित सूचना सो आदेशले तोकेको म्यादभित्र कर अधिकृतलाई दिनुपर्छ र सो कारण निजलाई विश्वासप्रद लागेमा निजले बढीमा एक महीनासम्मको थप म्याद दिन सक्नेछ ।
(४) उपदफा (३) अन्तर्गत दिइएको आदेश पालन नगर्ने व्यक्तिलाई कर अधिकृतले ने.रु. ५००।– पाँचसयसम्म जरिवाना गर्न सक्नेछ ।